प्रहरीले १ हजार ९०० भन्दा बढी आक्रोशित प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ। इस्लामावादको ‘एकाउन्टेबिलिटी कोर्ट’ले बुधवार आठ दिनको लागि खानको हिरासत ‘नेशनल एकाउन्टेबिलिटी ब्युरो’लाई सुम्पिएको छ। खानको स्वामित्वमा रहेको अल-कादिर ट्रस्टले सरकारी जग्गा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।
पीटीआईका अध्यक्ष समेत रहेका खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो। प्रहरी र पीटीआई समर्थकहरू बिचको रक्तपातपूर्ण झडपको नजितास्वरुप प्रहरी चौकीसहित धेरै सरकारी भवनहरूमा क्षति पुगेको छ।
प्रहरीले बुधवार पीटीआईका केन्द्रीय महासचिव असद उमर र वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिसकेको छ।
बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सरकारले पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामावादमा सेना परिचालन गरेको छ। प्रदर्शनकारीहरूले लाहोरस्थित ‘कोर्प्स कमाण्डर’को निवासमा आक्रमण गर्नुका साथै रावलपिंडीमा रहेको सेनाको मुख्यालयको गेट भत्काएपछि सरकारले सेना परिचालन गरेको हो।
भवनहरुमा आक्रमण भएपछि आफ्नो मिडिया शाखाबाट सेनाले यसको निन्दा गरेको छ। सेनाका प्रवक्ताले यसलाई आफ्नो ‘सीमित स्वार्थ’का लागि जनतालाई प्रयोग गर्ने राजनीतिक समूहको ‘तुच्छ काम’को संज्ञा दिए।
Photo: AFP
आक्रोशित प्रदर्शनकारीहरूले इस्लामाबादको एक प्रहरी कार्यालय, लाहोरको एक प्रहरी चौकी, पेशावरको रेडियो पाकिस्तानको भवन र तल्लो दिरको चक्कदारामा रहेको स्काउट्स फोर्टमा आगजनी गरेको छन्।
समर्थकहरूले इस्लामाबादको प्रहरी घेराबाहिर जुलुस निकालिरहँदा ‘एकाउन्टेबिलिटी कोर्ट’लाई अस्थायी रूपमा प्रहरी मुख्यालयमा सारिएको छ भने खानलाई सोधपुछको लागि ‘एनएबी’ अधिकारीहरूसमक्ष सुम्पिएको छ।
मिडियालाई मुद्दाको सुनुवाइ हेर्न दिइएको थिइन। अधिकारीहरुका अनुसार एनएबीले पूर्व प्रधानमन्त्रीलाई १४ दिन हिरासतमा राख्न म्याद मागेको थियो तर अदालतले आठ दिनको मात्र म्याद दिएको छ।
‘एकाउन्टेबिलिटी कोर्ट’बाट हिरासतमा लिएसँगै एनएबीले खानसँग सब-जेलमा सोधपुछ जारी राखेको छ। खानलाई उच्च अदालत परिसरबाट मंगलवार गिरफ्तार गरी जी-६ स्थित एनएबी रावलपिंडीको कार्यालयमा लगिएको थियो।
उच्च अदालतका मुख्य न्यायाधीशले खानको गिरफ्तारी आफैँमा गैरकानूनी नभएपनि पूर्व प्रधानमन्त्रीलाई हिरासतमा लिने तरिकामा प्रश्न उठाएका थिए। अदालतले गृहसचिव र इस्लामाबाद प्रहरी प्रमुखविरुद्ध अवहेलनाको कारबाही पनि सुरु गरेको छ।






