क्याम्पसले विकास गरेका तीन उन्नत धानका बीउ रोपाइ सँगै गौरमा धान दिवस सम्पन्न
१५ असार, रौतहट । राष्ट्रिय धान दिवसको अवसर पारेर पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस, गौरले अनुसन्धानबाट विकास गरेका तीन प्रजातिका उन्नत धानका बीउ रोपाइ गर्दै कृषि अनुसन्धान र प्रविधिमैत्री खेतीमा नयाँ पहल गरेको छ ।
राजर्षि जनक विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले आयोजना गरेको कार्यक्रममा तीनै प्रजातिका बीउका बेर्ना प्रयोग गरी धान रोपाइँ गरिएको थियो । क्याम्पसका अनुसार स्थानीय माटो र हावापानीलाई ध्यानमा राखेर विकास गरिएका यी बीउहरु दुई साता सम्म पानी जम्दा पनि धानको बोटलाई क्षति नहुने किसिमको रहेको छ ।

रोपाई कार्यक्रमको उद्घाटन गर्दै गौर नगरपालिकाका मेयर शम्भु साहले कृषि क्षेत्रमा अनुसन्धान र नवीन प्रविधिको प्रयोगलाई विस्तार गर्न स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्याम्पसले ल्याएको धानको बिउ गौरको माटो सुहाउदो भएको उनले बताए । वर्षा र बाढीको पानी केही साता सम्म खेतमा जम्दा अन्य जातका धानबाली नष्ट हुने भएकोले लामो समय पानी जम्दा पनी धानबाली नोक्सान नहुने हो भने किसानलाई राहत हुने उनले बताए ।
धान रोपाइँ कार्यक्रममा जनप्रतिनिधि, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा स्थानीय किसानको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत रोपाइँसँगै आधुनिक कृषि प्रविधिको प्रयोगलाई जोड दिँदै कृषि उत्पादन बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।






