कटहरियामा रोपाइँ गर्दै मनाइयो राष्ट्रिय धान दिवस

   १५ असार २०८३, सोमबार १४:४९  

१५ असार, रौतहट । राष्ट्रिय धान दिवसको अवसरमा रौतहटको कटहरिया नगरपालिका–६ मा धान रोपेर विशेष कार्यक्रमका साथ दिवस मनाइएको छ।

राष्ट्रिय किसान महासंघको आयोजनामा भएको कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल तथा केन्द्रीय सदस्य प्रतिमा गौतम सहित विभिन्न नेता, कार्यकर्ता र स्थानीय किसानहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले खेतमा धान रोप्दै किसानप्रति सम्मान व्यक्त गरेका थिए। उनीहरूले कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको प्रवर्द्धन, किसानको मनोबल अभिवृद्धि तथा कृषि क्षेत्रको समग्र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।