अमेरिकी अदालतमा मादुरोले भने– निर्दोष छु, मलाई अपहरण गरियो
२२ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफू निर्दोष रहेको बताएका छन् । सोमबार न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइँदा उनले आफूमाथिका अभियोग निराधार रहेको बताएका हुन् ।
उनीमाथि लागुऔषध तस्करी, नार्को–टेररिज्म (लागुऔषधसँग सम्बन्धित आतंक फैलाउने गतिविधि) र खतरनाक हतियार भण्डारणजस्ता गम्भीर अभियोग लगाइएको छ । उक्त अदालतमा उनको त्यो पहिलो सुनुवाइ हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा यही जनवरी ३ मा भेनेजुएलामा सैन्य कारबाही गरिएको थियो । त्यसपछि गिरफ्तार गरेर उनलाई अमेरिका लगिएको छ ।
न्यायाधीशसामु ६३ वर्षीय मादुरोले भने, “मलाई अपहरण गरिएको छ । म इमानदार मानिस हुँ । म मेरो देशको राष्ट्रपति हुँ ।”
उनले आफूमाथिका चारै अभियोगमा ‘नट गिल्टी’ (निर्दोष) भनी बयान दिएका छन् । सन् २०२० देखि नै उनीमाथि यी अभियोग लगाइएको छ ।
मादुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिका लगिएको छ । उनले पनि आफू निर्दोष रहेको जिकिर गरिन् । अदालतमा उनले आफू भेनेजुएलाको प्रथम महिला (फर्स्ड लेडी) भएको बताइन् ।
मादुरोले मेक्सिकोका सिनालोआ र जेटास कार्टेल, कोलम्बियाका फार्क विद्रोही समूह र भेनेजुएलाका ट्रेन दे अरागुआ ‘ग्याङ’सँग मिलेर कोकिन तस्करी गरेका अमेरिकी अधिकारीहरूको आरोप छ ।
मादुरोले यी आरोप अस्वीकार गरेका छन् । यी आरोप भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण जमाउने अमेरिकी प्रयासको बहाना मात्र भएको उनको भनाइ छ ।
उनले आफ्नो बचाउमा यो मुद्दा राजनीतिक प्रकृतिको भएको बताएका छन् । किनकि, अमेरिकाले भेनेजुएलामा सन् २०१८ को निर्वाचनपछि उनको सत्तालाई चुनौती दिँदै आएको छ ।
अभियोजकका अनुसार, मादुरोका कथित अवैध गतिविधि सन् २००० देखि सुरु भएको थियो । त्यति बेला उनी राष्ट्रियसभा सदस्य थिए ।
पछि उनी विदेशमन्त्री बने । र, सन् २०१३ मा ह्युगो शावेजपछि उनी राष्ट्रपति बने ।
अन्तर्राष्ट्रिय अपराधी समूहसँग गठजोड र सरकारी स्रोत लागुऔषध तस्करीका निम्ति प्रयोग गरेको उनीमाथि अभियोग लगाइएको छ ।
जनवरी ३ को रात अमेरिकी स्पेसल फोर्सेसले भेनेजुएलाको राजधानी काराकासमा ठूलो ‘अपरेसन’ सञ्चालन गर्दै हेलिकोप्टर र लडाकु विमानको सहयोगमा मादुरोको घरमा छापा मारेको थियो । उक्त कारबाहीका क्रममा सैनिकहरूले मादुरो र उनकी पत्नीलाई बेडरुमबाट पक्राउ गरेका थिए । त्यसपछि मादुरोलाई अमेरिकी विमानमार्फत न्युयोर्क लगिएको थियो ।
धेरै देशले यसलाई ‘संप्रभु देशका राष्ट्रपतिको अपहरण’को संज्ञा दिएका छन् । रोयटर्सबाट ।






