बिहार विधानसभा निर्वाचनको मतगणनामा नीतिश कुमारकै रुझान

   २९ कार्तिक २०८२, शुक्रबार ११:०४  

२८ कात्तिक, काठमाडौं । बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ । २४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।

अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा पुन: नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ । एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् ।

तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् ।

पार्टीअनुसारको सिट हेर्दा जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् । त्यसैले ठूलो दल बन्ने दौडमा बीजेपी र जेडीयूबीच नै मुख्य प्रतिस्पर्धी देखिन्छन् ।

बहुमतको सरकार बनाउन १२२ सिट भए पुग्छ ।