देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

   १८ फाल्गुन २०७८, बुधबार ११:५३  

१८ फागुन, रौतहट । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा आज टेलिफोन वार्तामा कुराकानी भएको छ । प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गर्नुभएको छ ।
‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ’, कुराकानीपछि विदेशमन्त्री एन्टोनीले ट्वीटरमा लेख्नुभएको छ ।

नेपालको संसद्ले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरे लगत्तै भएको कुराकानीलाई महत्वका साथ हेरिएको छ ।

टेलिफोनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमा समेत छलफल भएको छ ।