हिँउ कारण सवारी साधनमा फसेर २२ जनाको मृत्यु
बीबीसी नेपाली । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारी साधन भित्र फसेर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन् । स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ ।
हिउँमा फसेर ज्यान गुमाउनेमा एक प्रहरी, उनकी श्रीमती र उक्त दम्पतीका छ सन्तान छन् भने अर्को एक परिवारका पनि पाँच जनाले ज्यान गुमाएका छन्। सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ।
शनिवारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरूले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरे। आकस्मिक सेवामा खटेका निकायका अनुसार मृत्यु हुनेमा १० बालबालिका छन् । प्रहरीका अनुसार कम्तीमा छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
धुवाँमा सास फेर्दा अक्सिजन कमी हुनुलाई मृत्युको सम्भावित कारण मानिएको छ । समुद्र सतहबाट २,३०० मिटरमा रहेको स्थानसम्म पुग्न सकेका मानिसलाई सरकारी भवन र विद्यालयहरूमा आश्रय दिइएको छ ।






