दक्षिण कोरियामा दैनिक थपिदैँ २ लाख बढी संक्रमित

   २४ फाल्गुन २०७८, मंगलवार १४:५३  

२४ फागुन, एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी संसारभरि घटेपनि दक्षिण कोरियामा दैनिक २ लाखभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् ।

संक्रमण तीव्र भएर जनजीवन अस्तव्यस्त बनाएको कोरोनाभाइरसको नेपालमा तेस्रो लहर लगभग सकिएको छ । सोमबार नेपालमा ८ हजार ६ सय ३८ जनाको परीक्षण गर्दा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।

नेपाललगायत संसारका धेरै मुलुकमा अहिले कोरोनाको संक्रमण घटिरहेको छ । दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानमात्र होइन युरोप, अमेरिका र अफ्रिकामा कोरोना संक्रमण घटेको छ ।

वल्र्डोमिटरका अनुसार गत जनवरी २१ मा ३८ लाख बढी संक्रमित थपिएकोमा अहिले सोमबार संसारभरि १२ लाख १५ हजार ७६४ जनामा नयाँ संक्रमण थपिएका छन् । संसारभरि कोरोना घटिरहेका बेला पूर्वी एसियाली मुलुकमा भने यसको संक्रमण बढिरहेको छ ।

सबैभन्दा धेरै संक्रमण दक्षिण कोरियामा छ । त्यहाँ मंगलबार २ लाख २ हजार मानिस संक्रमित भएका छन् भने जापानमा ४० हजार संक्रमित थपिएका छन् । एजेन्सी