३५ वर्षीय युवा चिलीका राष्ट्रपतिमा निर्वाचित

   ५ पुष २०७८, सोमबार १६:११  

बीबीसी । दक्षिण अमेरिकी देश चिलीमा पूर्व विद्यार्थी नेता ३५ वर्षीय गेब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । वामपन्थी नेता बोरिकले राष्ट्रपतिको लागि भएको चुनावमा अति–दक्षिणपन्थी नेता होसे एन्टोनियो कास्टलाई पराजित गरेका हुन् ।

बोरिक विश्वकै सबैभन्दा कम उमेरका नेताहरू मध्ये एक हुन् । उनी चिलीको इतिहासमै सबैभन्दा कान्छो राष्ट्रपति हुन् ।

उनले ५६ प्रतिशत मत प्राप्त गरे भने उनको प्रतिद्वन्द्वी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका समाचारमा उल्लेख गरिएको छ । हालैका दशकहरूमा चुनाव अति ध्रुवीकृत भएको छ । सरकार विरोधी प्रदर्शनपछि चुनाव भएको हो ।

दुवै उमेदवारले देशका लागि फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका थिए । दुवैले कहिल्यै सरकारमा नगएका राजनीतिक दलको प्रतिनिधित्व गर्छन् ।

सार्वजनिक रूपमा प्रसारण गरिएको निवर्तमान राष्ट्रपति सेबास्टियन पिनेरासँगको फोन कलमा बोरिकले ‘विशाल चुनौतीको सामना गर्न सक्दो प्रयास गर्ने’ बताएका छन् ।

उनी पूर्व विद्यार्थी आन्दोलनकारी नेता हुन् । उनले समर्थन गरेको सन् २०१९ र २०२० मा असमानता र भ्रष्टाचारविरुद्ध भएको जनप्रदर्शनले चिलीलाई हल्लाएको थियो । कुनै समय ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर अर्थतन्त्र चिली अहिले विश्वका सबैभन्दा ठूलो आर्थिक असमानता हुने देशमा पर्छ । संयुक्त राष्ट्रसंघका अनुसार चिलीको एक प्रतिशत जनसंख्यासँग देशका २५ प्रतिशत सम्पत्ति रहेको छ ।

बोरिकले चिलीको पेन्सन ९निवृतिभरण० र स्वास्थ्य प्रणाली सुधार, हप्तामा काम गर्नुपर्ने समय ४५ बाट ४० घण्टामा घटाउने र हरित लगानीलाई प्रवद्र्धन गर्दै असमानतालाई सम्बोधन गर्ने बाचा गरेका छन् ।

यसैबीच, उनको प्रतिद्वन्द्वीले कर र सामाजिक खर्च कटौती गर्ने बाचा गर्दै कानुनी व्यवस्थामा उभिने बताएका थिए ।

कास्टले पूर्व सैनिक तानाशाह जनरल अगस्टो पिनोचेटको विरासतको पनि बचाउ गरेका थिए । पिनोचेटले कूद्वारा सत्ता हातमा लिएर सन् १९७३ देखि १९९० सम्म शासन गरेका थिए । उनको नेतृत्वमा तीन हजारभन्दा बढी मानिसहरू राज्यद्वारा मारिए या बेपत्ता पारिए । हजारौँ राजनीतिक विरोधीहरूलाई नजरबन्द शिविरमा राखिएको थियो ।

उनका प्रतिद्वन्द्वी कास्टले एक ट्विट गर्दै ‘महत्वपूर्ण जीत’का लागि बोरिकलाई बधाई दिएका छन् ।

चिलीको पिनोचेट युगको संविधान पुनः लेखन गर्न गत वर्ष अत्यधिक मतदान भएपछि देश ठूलो परिवर्तनबाट गुज्रिरहेको छ ।