रुसले युक्रेनमाथि हमला गरे परिणाम भोग्नु पर्ने युकेको चेतावनी

   २५ मंसिर २०७८, शनिबार ११:३४  

बीबीसी । ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले “गम्भीर आर्थिक परिणाम” भोग्नुपर्ने चेतावनी दिएकी छन्।

उनले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम “रणनीतिक गल्ती” हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी हुन्।

ट्रसले यूके र उसका साझेदारहरूले “त्यस्तो खालको (युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने) कारबाहीलाई रोक्नुपर्ने”मा जोड दिएकी छन्।

युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ। तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ।

अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्‍याउँदै ब्रिटिश विदेशमन्त्रीले भनेकी छन्, “जी-सेभेन युक्रेनका सम्बन्धमा‘ आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको छ।”

“यदि रुसले त्यस्तो गतिविधि गर्‍यो भने त्यो रणनीतिक गल्ती हुनेछ र त्यसको रुसले गम्भीर परिणाम भोग्नुपर्नेछ।” उनले सप्ताहान्तको बैठकमा एकै खाले मत राख्ने साझेदारहरूले एकै स्वरमा त्यसको विरोध गर्न गइरहेको पनि उनले बताएकी छन्।

रुस र युरोपेली सङ्घ (इयू|) दुवैतर्फ सीमा जोडिएको युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ। युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो।