अर्मेनिया र अजरबैजानबीच युद्ध अझै रोकिएन् , ४४ सैनिकको मृत्यु
२४ कात्तिक, रौतहट । अर्मेनिया र अजरबैजानबीच विवादित भूमि नागोर्नो काराबखको विषयमा जारी युद्ध अझै रोकिएको छैन । सोमबार नागोर्नो काराबखको प्रशासनले अजरबैजानको आक्रमणमा परी थप ४४ सैनिकको मृत्यु भएको बताएको छ ।
यससँगै युद्धमा परी मृत्यु हुने सैनिकको संख्या एक हजार २२१ पुगेको छ । यी दुई मुलुकको बीचमा गत सेप्टेम्बर २७ मा युद्ध सुरु भएको थियो ।
यी दुई मुलुकबीचको अहिलेको युद्ध सन् १९९० को दशकयताकै खराब अवस्थामा पुगेको छ । सन् १९९० को दशकमा यी दुई मुलुकबीच चलेको युद्धमा करिब ३० हजार मानिसको मृत्यु भएको थियो । त्यतिबेला यो भूमिको विषयमा कुनै सम्झौता नभई युद्धविराम भएकाले अहिलेको अवस्था सृजना भएको हो ।
अन्तर्राष्ट्रियरुपमा नागोर्नो काराबख अजरबैजानको भूमि हो । तर, यसमा अर्मेनियाको नियन्त्रण रहँदै आएको छ । अजरबैजानले अब यो जसरी पनि आफ्नो भूमि फिर्ता ल्याउने अडान लिँदै आएको छ ।
अजरबैजानले युद्धको क्रममा नागोर्नो काराबखको दोस्रो ठूलो सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरिसकेको छ भने अर्मेनियाले अजरबैजानको दाबीको खण्डन गरेको छ ।
रोयटर्स