बाराको तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा पक्राउ परेकालाई बाल सुधार गृह पठाउने आदेश

   २५ भाद्र २०८३, बिहीबार ०९:३८  

२५ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृह पठाउने आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नहुँदासम्मका लागि दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो।

बालिका हत्या प्रकरणमा १२ जना पक्राउ परेपनि नाबालकको हकमा २१ दिनभित्र अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधानका कारण जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई अदालतमा पेश गरेको हो। प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको छ।

अदालतमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, जाहेरवालाका तर्फबाट कानून व्यवसायी चन्द्रिकाप्रसाद यादव र डा. सुशील साहले कानूनको विवादमा परेका बालकले गम्भीर अपराध गरेको भन्दै थुनामा राखी पुर्पक्ष गरी पाऊँ भनी बहस गरेका थिए। यसैगरी जिल्ला बार एकाइको तर्फबाट अधिवक्ता उमेशप्रसाद जयसवाल र परमहंश केसरीले लामो समयको योजना बनाई नाबालिकाको अपहरण, बलात्कार र हत्या गरेको देखिएकाले दुवै नाबालकलाई कारागार चलान गरी पुर्पक्ष गर्न आग्रह गरेका थिए।

अधिवक्ताको बहस, प्रहरीको प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षण रिपोर्ट अध्ययनपछि न्यायाधीश अधिकारीले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २४ को (२) को खण्ड (क) बमोजिम निजहरूको जिउ ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई विचार गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम बाल सुधार गृहमा पठाउने आदेश दिएका हुन्। उनीहरूबाट तत्कालै पीडित पक्षले पाउने गरी दुई लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत आदेश भएको छ।