स्वीडेनको प्रधानमन्त्री बनाउन मतदान हुने
स्वीडेन । स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसदमा मतदान गरिने भएको छ ।
यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको संसदका प्रवक्ताले बिहीबार बताए ।
संसदले बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियो तर उनको गठबन्धन सरकारका सहभागीले उनलाई साथ नदिने भएपछि प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि उनले राजीनामा दिएकी थिइन् ।
चवन्न बर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसंख्यक सरकार गठन गर्ने सम्भावना देखिएको छ । उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनीविरूद्ध मतदान गर्नुपर्ने प्राबधान स्वीडेनको कानूनमा रहेको छ ।