दिल्लीको हावा प्रदुषित

   २७ कार्तिक २०७८, शनिबार ११:३६  

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको हावा निकै प्रदुषित भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी जारी गरेको छ ।

सीपीसीबीले प्रदुषणको कारण गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई बढी असर पर्ने भएकोले कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ ।

सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि निकै प्रतिकूल रहने बताइएको छ ।

सीपीसीबीले सरकारी र निजी कार्यालयका कर्मचारीलाई निजी परिवहनको उपयोग ३० प्रतिशतले कम गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, खोकी, रुघा र छातीमा पीडा भएकाहरुलाई घरमा नै आराम गर्न सुझाव दिइएको छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) साँझ ४ बजेसम्म ४७१ दर्ता गरिएको थियो । यो अहिलेसम्मकै सबैभन्दा खराब हो ।

बिहीबार एक्यूआई ४११ थियो । बोर्डले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको छ । राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ ।

एजेन्सी