२० महिना पछि अमेरिकी सीमा खुला

   २२ कार्तिक २०७८, सोमबार ११:२८  

बीबीसी । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमवारबाट आवागमन सुरु गरेको छ । पूर्ण मात्रा कोरोना विरुद्धको खोप लगाएका विदेशी यात्रुहरूलाई सीमा खुला गर्दैछ ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए।

ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो।

नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन्।

आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्।

युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ भने डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।