तेल ट्यांकर बिस्फोट : मृत्यु हुने संख्या १०८ पुग्यो
सियरा लिओन । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा मृत्यु हुने संख्या १०८ पुगेको छ । आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ भने अरु ९२ जना जलेर घाइते भएको बताइएको छ ।
यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् ।
शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नुभएको छ । यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो ।
उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् । यहाँका चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् ।
इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । पोखिएको सो इन्धन उठाएर लिने क्रममा यहाँका स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो । त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरु हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरु पनि सो दुर्घटनामा परेका थिए ।
उनीहरुलाई नै पछि आगोले छोएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो भनेका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन्