ब्राजिलको विमान दुर्घटनामा गायिकाको निधन

   २० कार्तिक २०७८, शनिबार १७:११  

ब्राजिल । ब्राजिलमा भएको विमान दुर्घटनामा चर्चित गायिकाको निधन भएको छ । ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा चर्चित ब्राजिलियन युवा गायिका मारिलिया मेन्डोन्काको निधन भएको हो। मेन्डोन्का २६ वर्षकी मात्र थिइन्।

दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन्।
मेन्डोन्का ग्रामी अवार्ड विजेता थिइन्। सम्बन्धमा असफल भएका महिलाको अनुभवमाथि केन्द्रित रहेर गाएका गीतका कारण उनी चर्चित थिइन्।

‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्काले कोरोना महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत गरेका ‘गिग्स’ मा एकैपटक ३३ लाखसम्म दर्शक ओइरिएका थिए।

दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो। कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दूरीमा पर्छ। कन्सर्टका लागि निजी विमान चढ्नुअघि उनले सामाजिक सन्जालमा भिडियो पोस्ट पनि गरेकी थिइन्।