चीन र रुसका राष्ट्रपति कोप-२६ मा अनुपस्थित
१७ कात्तिक, रौतहट । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् ।
मङ्गलवार राति कोप–२६ मा बोल्दै बाइडनले जलवायु “एउटा ठूलो मुद्दा” भएको र चीन त्यसबाट “टाढिएको” बताएका हुन् । उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए ।
ग्लास्गोमा नोभेम्बर १४ अर्थात दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन् ।
विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ ।
यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन् ।
बीबीसी