उत्तराखण्डमा बाढी कारण ४७ जनाको मृत्यु

   ३ कार्तिक २०७८, बुधबार १२:१२  

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । कुमाऊ क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । कुमाऊमा मात्रै बाढीसँग सम्बन्धित घटनामा ४२ जनाले ज्यान गुमाएका छन् ।

अविरल वर्षाले सयौँ घरहरू भत्किएका छन् । कैयौँ मानिस बाढीमा फसेका छन् । कैयौँ बेपत्ता छन् । जनजीवन अस्तव्यस्त भएको छ । अहिलेको विध्वंसले सन् २०१३ को त्रासदीको याद दिलाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

नैनीतालको राज्यका बाकी भागसँगको सम्पर्क टुटेको छ । दिल्लीसँग जोड्ने रेलवे लाइनको एक भाग क्षतिग्रस्त भएको छ । हेलिकोप्टरबाट मानिसको उद्धारकार्य भइरहेको जनाइएको छ ।