जापानको तटनजिक उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

   २ कार्तिक २०७८, मंगलवार १३:२९  

सियोल । उत्तर कोरियाले जापानको तटनजिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको जापानी र दक्षिण कोरियाली सैनिक अधिकारीहरूले जनाएका छन् ।

उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको बारेमा दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर प्रमुखहरूबीच सियोलमा छलफल हुन लागेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ ।

हालैका साताहरूमा प्योङयाङले उसले दाबी गर्ने गरेको हाइपरसोनिक, लामो दूरीको क्रुज क्षेप्यास्त्र र एन्टी–एयरक्राफ्ट हतियारहरू परीक्षण गरेको छ ।

कतिपय परीक्षणले कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूलाई उल्लंघन गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई विशेषगरी ब्यालिस्टिक क्षेप्यास्त्रसँगै परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।