केरला बाढी अपडेट : २६ जनाको मृत्यु, सयौं बेपत्ता

   १ कार्तिक २०७८, सोमबार ११:५३  

केरला । दक्षिणी भारतीय राज्य केरलामा भिषण वर्षाले आएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छ । बाढीले केरलाका धेरै घर बगाएका छन् ।
कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फसेका बीबीसीको समाचारमा उल्लेख छ ।

केही दिनयता सुरु भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ। अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्।

पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री र्पुयाउन हेलिकप्टर परिचालन गरिएको छ । बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ ।

सन २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए ।

बीबीसी