भवनमा निजी विमान ठोक्किदाँ ८ जनाको मृत्यु
मिलान । इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किदाँ ८ जनाको मृत्यु भएको छ । विमान इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो ।
दुर्घटनामा परि विमानमा रहेका सबै ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।
विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए । दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । जमिनमा रहेका कोही पनि घाइते भएका छैनन् । दुर्घटनाको कारणबारे थाहा पाउन अनुसन्धान सुरु भएको छ।