उत्तर कोरियाले गर्यो अर्को मिसाईल परिक्षण
१५ असोज, रौतहट । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो ।
केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् । उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ ।