कारागारमा झडप हुदा सय भन्दा बढीको मृत्यु
१४ असोज, रौतहट । एक्वेडरको कारागारमा झडप हुदा ठूलो संख्यामा कैदीहरुको ज्यान गएको छ ।
मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ । त्यहाँ बन्दी गृहका दुई समूहबीच भएको झडपमा सय भन्दा बढीको ज्यान गएको छ ।
अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका थिए । उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो । स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको थियो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो । उक्त गिरोहले हाल एक्वेडरमा काम गरिरहेको बताइएको छ ।
एक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई ’’डरलाग्दो’’ बताए । उनले भने, “हिजो प्रहरीले २ बजे (स्थानीय समय) स्थिति आफ्नो नियन्त्रणमा लियो। तर हिजो राति त्यहाँ गोली प्रहार, अन्य कुराहरू र विस्फोटन भए। र आज बिहान हामीले पूर्ण नियन्त्रण लियौँ। हामीले झडप भएका स्थानहरूमा छिर्दै जाँदा थप मृत शरीरहरू फेला पारिरहेका छौँ ।’’
त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दीहरू मारिएका थिए । प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए । त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरे ।
घटनमा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन । राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।
बिबिसीको सहयोगमा