फुमिओ किशिडा जापानका आगामी प्रधानमन्त्री

   १३ आश्विन २०७८, बुधबार १६:५८  

जापान । पूर्व विदेशमन्त्री फुमिओ किशिडा पुनः जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ ।

६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन । दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिए भने कोनोले १७० भोट मात्र पाएका थिए । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो ।

अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछन् । यसअघि तारो कोनो जापानको आगामी प्रधानमन्त्री बन्न सक्ने विभिन्न सर्वेक्षणले देखाए पनि किशिडाले बुधबारको निर्वाचनमा उनलाई पराजित गरेका हुन् ।

यो खबर एजेन्सीहरुको सहयोगमा तयार पारिएको छ ।