पञ्जाबका नयाँ मुख्यमन्त्री चरणजीत सिंह चन्नी
पञ्जाब । अमरिन्दर सिंहले राजीनामा दिएपछि पञ्जाबका नयाँ मुख्यमन्त्री चरणजीत सिंह चन्नी चयन भएका छन् । उनी पञ्जाबको मुख्यमन्त्री बन्ने दलित समुदायको पहिलो नेता हुन् ।
अमरिन्दर सिंहले राजीनामा दिएपछि कांग्रेसको तर्फबाट मुख्यमन्त्री पदको लागि नवजोत सिंह सिद्धू, सुनील जाखड, अंबिका सोनी र सुखजिंदर सिंह रंधावाको नाम चर्चामा थियो । तर, कांग्रेस हाई कामान्डले पञ्जाबको नयाँ मुख्यमन्त्रीमा चरणजीत सिंह चन्नीको नाम घोषणा गरेको छ ।
राजनीतिक वृत्तमा चार महिना पहिले कांग्रेसले पञ्जाबको विधानसभामा ‘दलित कार्ड’ खेल्ने प्रयास गरेको बताइएको थियो । तर, यस्ता कुराले दलित मुख्यमन्त्री नियुक्तीको महत्त्व कम नहुने र यो पञ्जाबको राजनीतिमा ऐतिहासिक घटना भएको बीबीसी हिन्दीले बताएको छ ।
उनी तीनपटक विधानसभाको सदस्य बनेका छन् । २००७ मा पहिलो पटक स्वतन्त्र रूपमा विधानसभा सदस्य जितेका चरणजीत सिंह चन्नीलाई पूर्व मुख्यमन्त्री अमरिन्दर सिंहले कांग्रेसमा समावेश गरेका थिए । अमरिन्दर सिंहको क्याबिनेटमा चन्नी प्राविधिक शिक्षा एवं औद्योगिक तालिम, पर्यटन एवं सांस्कृतिक मामिला मन्त्री थिए ।
यो समाचार बीबीसी हिन्दीको सहयोगमा तयार पारिएको छ ।