हाइटीमा शक्तिशाली भूकम्प, तिन सय भन्दा बढीको मृत्यु
३१ साउन, रौतहट । क्यारेबियन मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०४ जनाको मृत्यु भएको छ। ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आइरहेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ९४९ घरहरु, केही चर्चहरु, केही विद्यालयहरु र केही अस्पताल भवनहरुमा क्षति पुगेको छ। भूकम्पको इपिसेन्टर राजधानी पोर्टु प्रिन्सबाट १२५ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।
भूकम्पपछि हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।
हाइटी सन् २०१० मा गएको शक्तिशाली भूकम्पबाट तंग्रिँदै थियो। त्यतिबेला ७ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो भने कयौं भौतिक संरचनामा क्षति पुगेको थियो।






