जासुसीको आरोपमा क्यानेडियन व्यापारीलाई ११ वर्ष जेल चलान
२७ साउन, रौतहट । चीनमा जासुसी गरेको आरोपमा चिनियाँ अदालतले एक क्यानेडियन व्यापारीलाई ११ वर्षको जेल चलान गरेको छ । सजाय हुनेमा क्यानडाका व्यापारी माइकल स्पाभोर हुन ।
स्पाभोर चीनको बेइजिङमा बस्दै आएका थिए । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर कोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।
अदालतले स्पाभोरलाई उनकै देश पठाइने पनि जनाएको छ । तर, जेल सजाय पूरा गरिसकेपछि पठाउने वा त्यसअघि नै पठाउने भन्ने खुलेको छैन । डिसेम्बर २०१८ मा क्यानेडियन माइकल कोभरिगसँगै स्पाभोर पनि जासूसीको अभियोगमा हिरासतमा परेका थिए ।
भ्यान्कोभरमा हुवेई कम्पनीका प्रमुख वित्तिय अधिकृत मेन्ग वान्झोउ पक्राउ परेसँगै यी दुईलाई चीनमा पक्राउ गरिएको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप हुवेईमाथि लगाइएको थियो ।






