रेडियाे सम्पादक ओमारीकाे हत्या , एक पत्रकार बन्दी

   २५ श्रावण २०७८, सोमबार २०:१५  

२५ साउन, राैतहट । अफगानिस्तानमा आइतबार काबुलको देह सब्ज जिल्लामा पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

उनकाे हत्यामा अफगान तालिवान समूह संग्लन रहेकाे प्रशासनकाे आसंका छ । तर हत्याको जिम्मेवारी हालसम्म कुनै पनि समूहले नलिएको स्थानीय प्रशासनकाे भनाई छ ।

हत्या सँगसँगै उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई समेत बन्धक बनाएर लगेको बताइएको छ ।

अफगानिस्तानको सञ्चारमाध्यमका अनुसार स्थानीय बुस्ट रेडियो स्टेशनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा तालिबान लडाकुहरूले बन्दी बनाएर लगेका थिए । ओमारी अफगानको राजधानी काबुलको बाग्राम जिल्लाको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यका अनुसार अफगानिस्तानमा ओपन सञ्चारका लागि आवाज उठाउँदै आएको नाइ नामक संस्थाका प्रान्तीय प्रमुख अबुल सामी घारतमालले हेमातलाई सोमबार नावा जिल्लाको आफ्नो घरबाट बाहिर लगिएको समाचारमा उल्लेख छ । घारतमालले अफगानिस्तानमा सञ्चारकर्मीहरुसँग गरेको वाचा पालना गर्न र पत्रकारलाई जतिसक्दो चाँडो रिहा गर्न तालिवानलाई आग्रह गर्नुभयो ।

तालिवान समूहले पछिल्ला दिनहरूमा हेलमन्ड प्रान्तका सबै जिल्लाहरूलाई नियन्त्रण गरेको छ भने प्रान्तीय राजधानी लश्करगाहमा अफगान राष्ट्रिय सैनिक तथा सुरक्षा बलसँग लडिरहेको छ ।

पछिल्लो समय तालिबानको आक्रामक गतिविधिका कारण कैयौँ सरकारी फौज र निर्दोष नागरिकहरूको ज्यान गएको छ । अफगानिस्तानभर सोमबार मात्र करिब ७० तालिवान लडाकूको मृत्यु भएको सेनाले बताएको छ ।

गत वर्षको फेब्रुअरीमा अमेरिका र तालिबानबीच हस्ताक्षर गरिएको नयाँ शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाले ठूलो संख्यामा युद्धग्रस्त अफगानिस्तान छोड्न थालेको केही समयपछि नै यो समूहले ठूला तथा आक्रामक हमला गर्दै आएको छ ।