चीनको बाढी कारण कम्तीमा ७३ जनाको मृत्यु
१३ साउन, रौतहट । चीनको मध्य प्रान्त हेनानमा अविरल वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्यान्हसम्म कम्तीमा ७३ जना व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ ।
यस वर्षको जुलाई १६ बाट शुरु भएको अविरल वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । अविरल वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको चीनको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डरले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको पठाएको छ । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।






