दुई राज्य सीमामा झडप, ६ प्रहरीको मृत्यु

   १२ श्रावण २०७८, मंगलवार ११:३०  

१२ साउन, रौतहट । भारतको दुई विभिन्न राज्यको सीमामा दङ्गा हुँदा ६ प्रहरीको मृत्यु भएको छ । भारतको असम र मिजोरम राज्यको सीमामा दङ्गाा भडकिएको थियो । जसमा असम राज्य तर्फका प्रहरीले ज्यान गुमाएका छन् ।

असमका मुख्यमन्त्री हिमत विश्व शर्माले दुख प्रकट गर्दै आफ्नो राज्यका ६ प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको जानकारी दिए । सामाजिक सञ्जाल ट्वीटरमार्फत एक पोष्ट सार्वजनिक गर्दै उनले यस घटना बारे जनाकारी दिएका छन् ।

सोमबार असाम र मिजोरमको सीमा क्षेत्रको सुरक्षामा खटीएका प्रहरी र नागरिकबीच झडप भएको थियो । सो झडपमा गोली समेतको प्रयोग भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

असमका मुख्यमन्त्री र मिजोरमका मुख्यमन्त्री जोरामथंगाले यो विषयमा सामाजिक सञ्जालमा एक अर्कालाई चर्को आरोप लगाउँदै आएका थिए । तर पछि गएर उनीहरुबीच वार्ता समेत भएको खबर बाहिरिए ।

सीमा प्रहरीको मृत्यु भएपछि केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति स्थापना गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री शर्मा र जोरामथंगाले झडप भएको सीमा क्षेत्रमा केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्ने राय प्रकट गरेका हुन ।

मिजोरम राज्यको उसका दुई छिमेकी राज्य असम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सृजना भएको थियो । त्यसबेला केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । असममा शर्मा मुख्यमन्त्री बनेपछि परिस्थिति फेरि बदलिएको छ । पछिल्ला दिन तनाव बढ्दै गएको छ । दुई राज्य बीचको सीमा विवाद अझै टुंगिन सकेको छैन ।