भारतमा संक्रमित दर घट्दै, २४ घण्टामा ४७० जनाको मृत्यु

   २५ असार २०७८, शुक्रबार १४:४१  

२५ असार, रौतहट । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने दर निकै सुधार भएको देखिन्छ । बिहिबार संक्रमित दरमा बढेको थियो भने आज पुनः घटेको छ ।

बिहिबार मात्र ४५ हजार ८९२ नयाँ संक्रमित थपिएका थिए भने पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ४३ हजार ७३३ जनाँ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ । संक्रमित संख्यामा सुधार आएपनि मृत्यु हुने दर भने धेरै घट्न सकेको छैन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४७० जनाले ज्यान गुमाइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो वृद्धि सँगै भारतमा कोरोनाबाट कुल मृत्यु हुने संख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।

विश्वयापी बनेको कोरोनाभाइरसको महामारीको सुरुवात देखि हालसम्म भारतमा २ करोड ९७ लाख ७१ हजारभन्दा बढीले कोरोना जितेका छन् । ती मध्ये ३८ हजार ३८५ जनाले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४३ हजार नाघेको छ ।