कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक नभएको: बेलायती प्रधानमन्त्री

   ३ असार २०७८, बिहीबार ११:३१  

३ असार, रौतहट । कोरोना भाइरस (कोभिड–१९) चीनको प्रयोगशालाबाट लिक नभएको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि ७) को पत्रकार सम्मेलनमा भनेका थिए– ‘शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।’ सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए।

उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।