बुर्किनामा हतियारधारीको आक्रमणमा १३२ जनाको मृत्यु
२३ जेठ, रौतहट । बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा हतियारधारीको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।
आक्रमणकारीले स्थानीयका घर तथा बजार क्षेत्रमा आगजनीसमेत गरेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तथापि इस्लामी समूहहरूले हमला गरेको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।
घटनाको राष्ट्रपति रोक कबोरेले पुष्टि गरेको बीबीसीले जनाएको छ । कबोरेले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको निन्दा गरेका छन् ।






