भारतमा संक्रमण घट्दै, २४ घण्टामा मात्र १ लाख ९५ हजार थपिए

   ११ जेष्ठ २०७८, मंगलवार ०८:२७  

१० जेठ, राैतहट । भारतमा काेराेनाका संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

दाेस्राे लहरमा लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ७ हजार २४९ पुगेको छ ।