भारतमा थपिए ३ लाख ६६ हजारभन्दा बढी कोरोना संक्रमित

   २७ बैशाख २०७८, सोमबार १३:१६  

२७ बैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको कूल संख्या पनि २ करोड २६ लाख ६२ हजार नाघेको हो ।

यस्तै, कोरोना संक्रमित थपिदै जाँदा ज्यान गुमाउनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप ३ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । यससहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ लाख ४६ हजार १ सय १६ पुगेको छ ।

यसैबीच, बितेको २४ घण्टामा महाराष्ट्रमा ४८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, भने कर्नाटकमा ४७ हजारभन्दा बढी जनामा कोरोना पुष्टि भएको छ । केरलामा पनि ३५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतको तामिलनाडुमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।