पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५०१ जनाको मृत्यु, थप २.६१ लाखमा संक्रमण

   ५ बैशाख २०७८, आईतवार १३:३९  

५ वैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण १ हजार ५०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको छ ।

विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । एक विश्वविधालयका तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ ।