चिनियाँ विदेशमन्त्री र तालिबानी नेताबीच भेटवार्ता

   १४ श्रावण २०७८, बिहीबार ११:४६  

१४ साउन, राैतहट । चिनियाँ विदेशमन्त्री वाङ यी र तालिबान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले भेटवार्ता गरेको छ ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग बुधबार चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटेको हो ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिबानलाई आग्रह गरेका छन् । जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।