अमेरिकामा देखियो मङ्कीपक्सको संक्रमित
७ साउन, रौतहट । अमेरिकामा एक जना मङ्कीपक्सको संक्रमित भेटिएको छ । संक्रमण पुष्टि भएसँगै अमेरिकाको २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको छ ।
जुलाई महिनाको शरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले उक्त रोग अमेरिकामा भित्र्याएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । यो रोग २ सय जना भन्दा बढीको सम्पर्कमा आएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।
अमेरिकामा सन् २००३ पछि पहिलो पटक यो भाइरसको सङ्क्रमण भेटिएको हो । संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हालसम्म थप नयाँ संक्रमित फेला परेका छैनन् ।
संक्रमित व्यक्तिले प्र्रयोग गरेका दुई विमानका यात्रु संक्रमणको जोखिमा रहेको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । ती व्यक्तिले गत ९ जुलाई नाइजेरियाको लागोसबाट जर्जिया एटलान्टाको विमान प्रयोग गरेका थिए । त्यसपछि उनी त्यहाँबाट डालास उडेका थिए । त्यहाँ उनी अस्पतालमा भर्ना भएका छन् ।
सीडीसीले विमानमा सवारहरुको सूची तयार गरि खोजी गरिरहेका छन् । तर, विमानमा मास्क लगाउन अनिवार्य रहेको कारणले संक्रमण हुने जोखिम निकै कम रहेको बताइएको छ ।
मङ्कीपक्स स्मलपक्सको सामु कम घातक रहेको सीडीसीको भनाइ छ । यो रोग प्राय मध्य र पश्चिम अफ्रिकी मुलुकको दुर्गम भेगमा पाइन्छ । सन् २००३ मा अमेरिकामा यो रोग फैलिँदा ४७ जनामा यसको सङ्क्रमण पुष्टि भएको थियो ।
बीबीसी






