राष्ट्रपतिको मोसेको हत्यापछि हैटीले विदेशी सेनाको सहयोग माग्यो
२६ असार, रौतहट । राष्ट्रपति जोभेनल मोसेको हत्या पछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षाका लागि विदेशी सेनाको सहयोग मागेको छ ।
हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्रचार गर्दै सैनिक पठाउन आग्रह गरेको हो । तर हाल अमेरिका सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएका छन् ।
यसअघि हैटीका प्रहरीले राष्ट्रपतिको हत्या २८ जना बन्दुकधारीहरुको समूहले गरेको जनाएको थियो । प्रहरीका अनुसार ती बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो ।
राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली काण्ड पछि ती बन्दुकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ भने तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ ।
अमेरिकाले सैनिक नपठाए पनि घटनाबारे छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
यस हत्याकाण्ड पछि अहिले हैटी नाजुक स्थिति उत्पन्न भएको छ । हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ ।






