भारतमा घट्दै कोरोना संक्रमित
२ असार, रौतहट । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस हाल भारतमा नियन्त्रणमा आएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार यता कोरोना संक्रमितहरुको संख्यामा कमी भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोना पुष्टि भएको छ ।
यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।
पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले ८ लाख ६५ हजार ४ सय ३२ रहेको छ ।
सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक ९ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या २ करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३ लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ ।
पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ । एजेन्सी






