फेरि इजरायलले गरे गाजापट्टीमा बम प्रहार
२ असार, राैतहट । इजरायलले पुन: गाजा पट्टीमा हवाई प्रहार गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायली सेनाले बुधबार बिहानै विद्रोही समूह हमासलाई लक्षित गरी बम आक्रमण गरेको हो।
इजरायलमा नयाँ सरकार बनेको तीन दिन नबित्दै गाजामा फेरि हमला गरिएको हो।
गत महिना ११ दिनसम्म इजरायल र हमासले रकेट हानाहान गरेका थिए। बेन्यामिन नेतन्याहू प्रधानमन्त्रीबाट बाहिरिएपछि इजरायल र प्यालेस्टाइन र हमासलाई गर्ने व्यवहारमा परिवर्तन हुने अपेक्षाबीच बुधबारको हवाई आक्रमण भएको हो।
हमासले केही बेलुनहरू दक्षिणी इजरायलमा पठाएकाले आक्रमण गर्नु परेको इजरायलको सेनाले जनाएको छ। इजरायली सेनाका अनुसार हमास नेताहरूले बैठकका लागि प्रयोग गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको हो।
इजरायलले हानेको बमबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। गत महिना भएको रकेट हानहानमा २ सय ५० जना प्यालेस्टाइनी र १३ इजरायलीको मृत्यु भएको थियो भने गाजामा १६ हजार बढी घर क्षति भएका थिए।






