चर्को घाममा काम लगाउने कुवेतका ६६ वटा कम्पनीविरुद्ध उजुरी

   २५ जेष्ठ २०७८, मंगलवार १६:४३  

२५ जेठ, रौतहट । चर्को घाममा काम लगाउने कुवेतका ६६ वटा रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ ।

कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ ।

सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने उक्त नियम उल्लंघन गरेको ह्युमन राइट्सलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरिरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

प्रत्येक वर्ष, श्रमिक यूनियनहरू र मानव अधिकार संगठनहरूले चरम सूर्य जोखिमको कारण सूर्य स्ट्रोक र कहिलेकाँही मृत्युको सिकार भएका थुप्रै घटनाहरूको सार्वजनिक गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला ठाउँमा श्रमिकलाई काम लगाउन प्रतिबन्ध लगाएको थियो । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।