भारतमा एकै दिन ४५ सयभन्दा बढीकाे मृत्यु, २ लाखभन्दा धेरै संक्रमित थपिए

   ५ जेष्ठ २०७८, बुधबार १३:३६  

५ ज्येष्ठ, राैतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणको कारण एकै दिन ४ हजार ५२९ जनाको मृत्यु भएको छ ।

भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । त्यस्तै पछिल्लाे २४ अवधिमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका संक्रमितको कुल संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजारभन्दा धेरैले घटेको छ ।

भारतमा अहिलेसम्म १८ करोड ५८ लाख डोज कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।