भारत कोरोनाको केन्द्रबिन्दु बन्दै, फेरि संक्रमणदरमा वृद्धि
२२ वैशाख, रौतहट । भारत कोरोनाको दोस्रो लहरको केन्द्रबिन्दु बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ८२ हजारभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ । जुन अमेरिकाको संक्रमणदर भन्दा ९ गुण बढी रहेको छ ।
भारतमा पछिल्लो ३ दिनमा नयाँ संक्रमितको संख्यामा कमी देखिएको थियो भने पुनः संक्रमित संख्यामा वृद्धि देखिएको छ ।
भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ८२ हजार ८४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार मात्र भारतमा ३ लाख ५५ हजारभन्दा बढी कोरोनाभाइरसको संक्रमित फेला परेका थिए ।
भारतमा मृत्युदरको कुरा गर्दा पछिल्लो २४ घण्टामा तीन हजार सात सय ८३ जनाको मृत्यु भएको छ । यो संख्यादर सार्वधिक हो । त्यस्तै स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार कुल सोमबार मात्र ३ हजार ४ सय ३६ जनाको मृत्यु भएको थियो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म २.०६ करोड कोरोना संक्रमति भइसकेका छन् । यद्यपी १.६९ करोड कोरोनाबाट निको भएका छन् । कोरोनाभाइरसका कारण हालसम्म २ लाख २६ हजारले आफ्नो ज्यान गुमाइसकेका छन् ।






