एसआईआईका सिईओ पुनेवाला धम्की पाएपछि लण्डन पुगे
१९ वैशाख, रौतहट । कोरोनाभाइरसको खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)का सिईओ अदार पुनावाला आफ्नो परिवार सहित लण्डन पुगेका छन् । खोप उत्पादन बढाउन दवाब र धम्की पाएपछि उनी समस्त परिवारका साथ भारत छोडी लण्डन पुगेका छन् ।
भारतका केही शक्तिशाली व्यक्तिहरुबाट धम्की आएपछि पुनावाला देश छोडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वको सबैभन्दा ठुलो खोप उत्पादक कम्पनी एसआईआईले भारतमा कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड एष्ट्राजेनिका उत्पादन गरिरहेको छ ।
भारतमा कोरोनाको दोश्रो लहर निकै भयावक बन्दै गएको छ । संक्रमित संख्या अधिक छन् भने मृत्यु दर पनि बढ्दै गएको छ ।
शनिबार मात्र भारतमा ४ लाख भन्दा धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि अक्सिजन र औषधीको अभावसँगै पुनेवालामाथि दवाब समेत बढेको थियो ।






