भारतमा करिब ३० करोडलाई खोप लगाइने, सिरम इन्स्टिच्युटले सरकारसँग माग्यो अनुमति

   ४ पुष २०७७, शनिबार ११:५७  

४ पुस, रौतहट । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो । भारतले छिट्टै नै कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिने तयारी गरेको छ । भारत सरकारले करिब ३० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएको छ । स्वास्थ्यकर्मी, प्रहरी, सैनिक, स्वयंसेवक र जोखिम उमेरसमूहमा रहेका नागरिकलाई खोप कार्यक्रममा प्राथमिकता दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोना खोप ‘कोभिसिल्ड’ बनाएको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगका लागि नियामक निकायसँग अनुमति मागिसकेको छ ।

भारतीय औषधि महानियन्त्रक(डीसीजीआई) सँग यसअघि अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ ।

त्यस्तै भारत बायोटेक र आईसीएमरले पनि स‌ंयुक्त रुपमा कोभ्याक्सिन नाम दिइएको कोरोना खोप विकास गरेका छन् । कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।