इलेक्टोरल कलेजद्धारा अमेरिकी राष्ट्रपति बाइडेन जित भएको पुष्टि
३० मंसिर, रौतहट । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुले राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् । यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रुपमा लिइन्छ ।
गत नोभेम्बरमा भएको चुनावमा ३०६ इलेक्टोरल मतसहित जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल मत प्राप्त गरेका थिए ।
अमेरिकी चुनावप्रणालीअनुसार मतदाताले देशभरबाट ५३८ इलेक्टर चुन्छन् । ती इलेक्टरले चुनावपछि राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा मत दिने गर्छन् ।
बाइडेनको जित औपचारिक रुपमै पुष्टि भए पनि ट्रम्पले भने आफ्नो हार सहज रुपमा स्वीकार गर्ने देखिएको छैन । अझै पनि उनले चुनावमा धाँधली भएको आधारहीन आरोप लगाइरहेका छन् ।
सामान्यतया इलेक्टरहरुको खासै चर्चा नहुने भए पनि यस वर्ष ट्रम्पले चुनावी नतिजा उल्ट्याउने चेतावनी दिएका कारण अर्थपूर्ण रुपमा हेरिएको थियो । इलेक्टोरले कलेजले आफ्नो पक्षमा ३०६ मत हालेपछि बाइडेनले चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयास अतिवादी कदम भएको प्रतिक्रिया दिएका छन् । यस्तो खालको कदम यसअघि कहिल्यै नदेखेको उल्लेख गर्दै बाइडेनले चुनावी नतिजा उल्ट्याउने प्रयासलाई रोकेकोमा सर्वोच्च अदालतलाई समेत धन्यवाद दिएका छन् ।
इलेक्टोरल कलेजको भोट गणनाका लागि अब कंग्रेसमा पठाइन्छ । अर्को महिना औपचारिक रुपमा त्यसको गणना र घोषणा हुनेछ । आगामी जनवरी ६ मा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा बस्ने संयुक्त सत्रमा यसको औपचारिक रुपमा गणना हुनेछ । त्यसपछि जो बाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा शपथ लिनेछन् ।