अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबार देखि सञ्चालन

   २८ मंसिर २०७७, आईतवार १२:१९  

२६ मंसिर, रौतहट । अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन हुने भएको छ। अमेरिकाले कोरोनाविरूद्धको खोप फाइजर–बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरेको केही समय नबित्दै खोप लगाउन सुरु गरिने भएको हो।

फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई त्यहाँको खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार अनुमति दिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा २४ घण्टाभित्र अर्थात शनिबार–आइतबार नै अमेरिकी नागरिकलाई खोप लगाउने घोषणा गरेका थिए।

अमेरिकी नागरिकलाई दिइने खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

खोप वितरणको जिम्मेवारी पाएको नियका प्रमुख सैनिक जनरल गुस्ताभ पेर्नाका अनुसार खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइनेछ। अमेरिकामा कोरोनाबाट ३ लाख पाँच हजार ८२ अमेरिकीको ज्यान गइसकेको छ।

महामारीबाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ६५ लाख ४९ हजार भन्दा धेरै पुगेको छ।