भारतमा किसान सरकारबीचको वार्ता मिलेन

   २१ मंसिर २०७७, आईतवार ०५:०७  

२१ मंसिर, रौतहट । भारतमा आन्दोलनरत किसान र सरकारबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शनिबारको वार्ताको क्रममा किसानले आफ्ना मागहरू राख्दै ती पूरा गर्न सकिने वा नसिकनेबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका थिए ।

तर सरकारले ठोस माग प्रस्ताव गर्न आग्रह गर्दै डिसेम्बर ९ मा पुनस् वार्तामा बस्ने जनाएको छ । दुई पक्षबीच शनिबार भएको वार्ता पाँचौं चरणको हो ।

यसअघि शनिबार बिहान सरकारले किसानहरूका जायज माग खुला दिमागले सम्बोधन गर्ने जनाएको थियो । वाणिज्य राज्यमन्त्री सोम प्रकाश र पन्जाबका सांसदले पन्जाबी भाषामा किसानहरूलाई सम्बोधन गर्दै माग पूरा गर्ने आश्वासन दिएका थिए ।

त्यसैगरी, कृषिमन्त्री नरेन्द्र सिंह तोमरले पनि सरकार किसानहरूका माग सम्बोधनका लागि वार्ता गर्न कटिबद्ध रहेको तथा कृषिसम्बन्धी कानुनका विषयमा उनीहरूको प्रतिक्रियालाई स्वागत गर्ने बताएका थिए ।

आन्दोलनरत किसानले भने वार्ता असफल भएको भन्दै देशव्यापी बन्दको घोषणा गरिसकेका छन् । आफ्ना मागहरू पूरा गर्न सरकारले अटेरी गरेकाले डिसेम्बर ८ मा देशव्यापी बन्दको आह्वान गरिएको उनीहरूको भनाइ छ ।

किसान नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिएका हुन् । आफ्ना जायज मागहरू पूरा गर्न शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएकाले बन्द गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ ।

कृषिसम्बन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै भारतीय किसानहरू केही समयदेखि देशव्यापी आन्दोलनमा छन् । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरू रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरूमा अवरोध गरिने किसान नेता हर्विन्दर सिंह लख्वाले बताएका छन् ।

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरू थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरूको रहेको छ । केही महिनाअघि पारित कानुनप्रति किसानहरूले असन्तुष्टि जनाउँदै आएका भए पनि हालै मात्र आन्दोलन थालेका हुन् ।

पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभाव पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार दबाबमा परेको हो ।